प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ

२०८०-११-१०

  • A
  • A-
  • A+
Share

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुनले व्यवस्था गरे बमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्ने, संस्थागत एवम् व्यवसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । 

गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थाको कार्यान्वयन सँगै नयाँ नयाँ अवसर तथा चुनौतीहरू देखा परेको उल्लेख गर्दै नीति, कार्यक्रम, आन्तरिक क्षमता समेत सोही अनुरूप निरन्तर समायोजन गर्दै जानुपर्ने आवश्यक रहेको बताउनुभयो । तहगत सरकारका निकायहरू बीचको समन्वय बढाउँदै स्थानीय प्रशासन थप प्रभावकारी बनाउन यस प्रकारका अन्तरक्रियात्मक कार्याशाला गोष्ठीले विशेष महत्व राख्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको चर्चा गर्दै मुलुकको आर्थिक सम्वृद्धिको लागि वातावरण निर्माण गर्ने र ऐतिहासिक परिवर्तनले ल्याएका लाभहरू जनताले उपभोग गर्ने वातावरण निर्माण गर्न तथा व्यवस्थाप्रति जनताको भरोसा अझ उचो बनाउन सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यक रहेको बताउनुभयो । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर कार्य गरिरहेको समेत उहाँले बताउनुभयो । 

गृहमन्त्री श्रेष्ठले लागू औषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैर व्यावसायिक कृयाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण समेत उत्तिकै महत्वपूर्ण विषय भएकोले यो क्षेत्रहरूमा समेत योजनावद्व रुपमा कार्ययोजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशस्तरिय सुरक्षा गोष्ठीबाट यस प्रदेशको विषयमा केन्द्रित भई राष्ट्रियस्तरमा समेत शान्ति, सुशासन र स्थिरताको लागि उपयोगी हुने सुझाव, रणनीति र कार्ययोजना निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गृह सचिव दिनेश भट्टराई, लुम्बिनी प्रदेश सरकार र गृह मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयका सचिव लालबाबु कवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उदेश्य सम्बन्धी जानकारी दिनुभएको थियो । 

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी शुक्रबार सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
२०८१-०१-२८

            कपिलवस्तु, विजयनगर गाउँपालिका-६ खजनीस्थित सडकमा लु.५ त ७१३ नम्बरको ट्याक्टर र युपि ५५ एम ९८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१ डिमै बस्ने २९ वर्षीय गुफरान खाँनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                        रूपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा तिनकुनेबाट योगिकुटीतर्फ जाँदै गरेको लु.७२ प ७७२२ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख घर भएका २२ वर्षीय जगत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।             नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-३ बिगेटस्थित सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु.३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका-५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।              दाङ, तुल्सीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा खमारीदेखि तुल्सीपुरतर्फ जाँदै गरेको रा.१ ह ५७६९ नम्बरको अटो सडकबाट अन्दाजी ३० मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।