प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० मा लु्म्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ प्रथम

२०८०-०६-२७

  • A
  • A-
  • A+
Share

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न
काठमाडौं, ६८औं प्रहरी दिवस २०८० को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
प्रतियोगिता समापनका अवसरमा शनिबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टीम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र, प्रतियोगितामा सहभागि भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो, सर्वोत्कृष्ट खलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमको सुरुमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई ३-२ ले पराजित गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टीम प्रथम भएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विजेता टिमलाई बधाई दिँदै यस प्रतियोगिताले समग्र नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढिकरण गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता र देशप्रेमको भावनालाई उजार गर्ने विधाको रूपमा रहेको खेलकुदको विकास र प्रवर्धनका लागि सबै एकवद्धता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण खलेकुद, नेपाल प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्न उत्तम माध्यम भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रलाई गौरवान्वित बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलकुदलाई अझै सुदृढ गर्न नेपाल प्रहरीले विभिन्न प्रतियोगिता गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द तथा महासचिव रोशन श्रेष्ठले प्रतियोगिता वेष्ट ब्लकर, वेष्ट स्पाइकर र वेष्ट डिफेन्डरलाई र राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताका वेष्ट सर्भर र वेष्ट सेटरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।
सो अवसरमा खेलकूद कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। असोज २१ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
भरूवा बन्दुकको छर्रा लागेर मृत्यु
२०८०-०८-२४

पाल्पा, निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मर बहादुर सारुको आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लाग्दा शनिबार राति घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०८-२४

अर्घाखाँची, सितगंगा नगरपलिका-८ सातमारामा ना.६ ख २७३९ नम्बरको गिट्टी लोड भएको ट्रक करिब २० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सन्जय थारू र सह-चालक रूपन्देही सियारी गाउँपालिका-२ बगदर्री बस्ने २३ वर्षीय भोला कुर्मी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका संजय थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भोला कुर्मीको स्वास्थ्य चौकी भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।