प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुशासन र समृद्धिको अभियानमा उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ

२०८०-११-११

  • A
  • A-
  • A+
Share

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । 

उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा हुने विभेद न्यूनिकरण, नागरिकका अपेक्षा सम्बोधन र समस्या सामाधानका लागि स्थानीय प्रशासनले अग्रगामी सोच सहित कार्य गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा भएका छलफलका विषयहरू कार्यान्वयन हुने र यसले मुलुकको शान्ति सुव्यवस्था र नागरिकको समृद्धि तथा अमनचयनमा दखिने गरी सुधार हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । 

समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले गोष्ठीको महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 

समारोहमा गृहसचिव दिनेश भट्टराईले धन्यवाद ज्ञापन व्यक्त गर्दै सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने उल्लेख    गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर समग्र प्रदेशमा देखिएका समस्या तथा चुनौतिहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकिकृत र समन्वयात्मक रूपमा आयोजित गोष्ठी उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकाय बिचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदेशगत अपराधको तथ्याङक विश्लेषण गरी योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन उहाँले दिनुभयो ।

गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । 

गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।