प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी – २०८१ सम्पन्न

२०८१-११-१८

  • A
  • A-
  • A+
Share

तुलसीपुर, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङद्वारा आयोजित “एकदिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८१ सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८१ को लक्ष्य अनुसार आज भएको समीक्षा गोष्ठीको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेत नारायण आचार्यज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिक रुपमा समुद्घाटन गर्नु भएको हो ।
अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन प्रविधिहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईबर कसुर अनुसन्धान सम्बन्धी कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्ने, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागि अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु बीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री चेत नारायण आचार्यज्यूले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सबल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा थप साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र वस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा मुद्दा चल्ने १२ वटा जिल्ला प्रहरी कार्यालय, २६ वटा इलाका प्रहरी कार्यालय र २ वटा वडा प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा वास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमा उपस्थित सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु भयो ।
गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पगेनी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, जिल्ला प्रहरी कार्यालय-१२ का कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानका बिषयमा बुँदागत प्रस्तुतिकरण गर्नु भएको थियो भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।
यसै गरी अपराध अनुसन्धानको प्रभावकारिता, कानून कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौति तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधीश श्रीबासुदेव आचार्य, जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री प्रेम राज पौडेलले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की ज्यूका अनुसार अपराधका नयाँ प्रवृति र अपराधमा प्रयोग भएका प्रविधीले अपराध अनुसन्धानमा ठूलो चुनौति सृजना गरेको छ । यस्ता समस्याको समाधान गरी संगठनिक उद्देश्य प्राप्तिका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विषयमा बोल्दै उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरु लगायत गोष्ठीमा सहभागी सम्पूर्ण प्रहरी अधिकृतहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-०९

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । राजश्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति अबलम्बन गरी व्यावसायिक ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न चुनावलाई निष्पक्ष र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गरी उपयुक्त रणनीतिको तर्जुमा गर्दै ती चुनौतीहरूको सम्बोधन गर्न तथा एकीकृत र समन्वयात्मक रूपमा काम गर्नको लागि आयोजना गरिएको यस गोष्ठी महत्वपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो । सीमा अपराध, साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र विपतजन्य घटनाहरू लगायत विभिन्न सामाजिक अपराधहरू चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सचेतना, समायानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रदेशको समग्र सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचनलाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।