प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी – २०८१ सम्पन्न

२०८१-११-१८

  • A
  • A-
  • A+
Share

तुलसीपुर, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङद्वारा आयोजित “एकदिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८१ सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८१ को लक्ष्य अनुसार आज भएको समीक्षा गोष्ठीको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेत नारायण आचार्यज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिक रुपमा समुद्घाटन गर्नु भएको हो ।
अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन प्रविधिहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईबर कसुर अनुसन्धान सम्बन्धी कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्ने, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागि अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु बीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री चेत नारायण आचार्यज्यूले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सबल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा थप साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र वस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा मुद्दा चल्ने १२ वटा जिल्ला प्रहरी कार्यालय, २६ वटा इलाका प्रहरी कार्यालय र २ वटा वडा प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा वास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमा उपस्थित सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु भयो ।
गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पगेनी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, जिल्ला प्रहरी कार्यालय-१२ का कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानका बिषयमा बुँदागत प्रस्तुतिकरण गर्नु भएको थियो भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।
यसै गरी अपराध अनुसन्धानको प्रभावकारिता, कानून कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौति तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधीश श्रीबासुदेव आचार्य, जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री प्रेम राज पौडेलले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की ज्यूका अनुसार अपराधका नयाँ प्रवृति र अपराधमा प्रयोग भएका प्रविधीले अपराध अनुसन्धानमा ठूलो चुनौति सृजना गरेको छ । यस्ता समस्याको समाधान गरी संगठनिक उद्देश्य प्राप्तिका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विषयमा बोल्दै उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरु लगायत गोष्ठीमा सहभागी सम्पूर्ण प्रहरी अधिकृतहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२०८३-०२-१८

दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।