अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०२-०७
- A
- A-
- A+
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।