प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

२०८२-०८-०९

  • A
  • A-
  • A+
Share

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । राजश्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति अबलम्बन गरी व्यावसायिक ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न चुनावलाई निष्पक्ष र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गरी उपयुक्त रणनीतिको तर्जुमा गर्दै ती चुनौतीहरूको सम्बोधन गर्न तथा एकीकृत र समन्वयात्मक रूपमा काम गर्नको लागि आयोजना गरिएको यस गोष्ठी महत्वपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो । सीमा अपराध, साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र विपतजन्य घटनाहरू लगायत विभिन्न सामाजिक अपराधहरू चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सचेतना, समायानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रदेशको समग्र सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचनलाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र  कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१२-०३

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।