टिप्परको ठक्करबाट मोटरसाइकल चालक र बालकको मृत्यु
२०८३-०२-१८
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक र एक बालकको मृत्यु भएको छ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४ प.३३९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आई बाटो क्रस गर्दै गरेको रा.१ ख.२१९२ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उनकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली र ५ वर्षीय छोरा मिनाराज नेपाली घाइते भएका थिए। घाइतेमध्ये मनोज नेपालीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो भने मिनाराज नेपाली पनि गम्भीर घाइते भएका थिए। अनुषा नेपालीको अवस्था सामान्य रहेको थियो।
उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि मनोज नेपाली र मिनाराज नेपालीलाई नेपालगञ्जस्थित साइन्सेस प्रालिमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले मिनाराज नेपाली र मनोज नेपाली मृत घोषणा गरेका थिए।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ। घाइते अनुषा नेपाली उपचारपछि डिस्चार्ज भएकी छन्।
दुर्घटनामा संलग्न टिप्पर, टिप्पर चालक दाङ शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।