बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२०८३-०२-१८
- A
- A-
- A+
दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।
घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।