करेन्ट लागेर एक जनाको मृत्यु
२०८३-०२-१८
- A
- A-
- A+
रोल्पा, माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी अन्दाजी ३९ वर्षीय हरिबहादुर घर्ती मगर रहेका छन्।
हरिबहादुर घर्ती मगर र माडी गाउँपालिका–६ कोर्चावाङ निवासी ३४ वर्षीय कर्मलाल घर्ती मगर रा.१ च.११७४ नम्बरको पिकअप गाडी धुनका लागि स्याङखोलामा गएका थिए। सो क्रममा चालक कर्मलाल घर्ती मगरले गाडी धोइरहेका बेला हरिबहादुर घर्ती मगर आफूसँग रहेको १२ भोल्टको ब्याट्री लिएर घटनास्थलबाट करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए।
पछि एक बाख्रा गोठालाले उनलाई खोलाको किनारमा पल्टिएको अवस्थामा देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा हरिबहादुर घर्ती मगरको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो।
घटनास्थलबाट १२ भोल्टको ब्याट्री, तार, पिकअप गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।
मृतकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ।